रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनमा पाँच दलीय गठबन्धन अगाडि रहेको बताएका छन् । गठबन्धनबाट पाएको सूचनाअनुसार हालसम्मको स्थितिमा पाँच दलीय गठबन्धन एक सय ३० ठाउँमा अग्रस्थानमा रहेको उनको दाबी छ ।
नेकपा (एकीकृत समाजवादी) रुपन्देही क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटीले आज भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा रुपन्देही–३ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका कांग्रेसका केन्द्रीय सदस्य खाणले गठबन्धनको अग्रता निर्वाचन हुने दिनसम्म अझै बढ्ने र अत्याधिक बहुमत प्राप्त हुने विश्वास व्यक्त गरे ।
माधव नेपाल प्रधानमन्त्री र आफू सिँचाइमन्त्री भएको बेला रुपन्देहीमा विकासका आयोजना अगाडि बढेको उल्लेख गर्दै उनले सहमति र सहकार्यका साथ गठबन्धनलाई अगाडि बढाएर मुलुुकलाई आगामी पाँच वर्षभित्र आर्थिकरुपमा पनि विकसित बनाइने उल्लेख गरे ।
अर्को प्रशंगमा उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई शान्तिपूर्ण मतदानमा सहभागी गराउन उक्त समूह र सरकारबीच निरन्तर छलफल भइरहेको बताए । राजनीतिक मूलधारमा ल्याउन सरकार र उक्त समूहबीच द्विपक्षीय वार्ता भएको जानकारी दिँदै उनले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग दुई दिनअघि भैरहवामा भएको वार्तामा कारागारमा रहेका बन्दीलाई प्रक्रिया मिलाएर छाड्ने, मुद्दा फिर्ता लिनेलगायतका विषयमा छलफल भएको बताए।
गृहमन्त्री खाणले नेकपाका नेता कार्यकर्तासमेत निर्वाचनमा भाग लिन खोजे प्रशासनले धरपकड नगर्ने र अन्य नागरिकसरह मतदान गर्ने अवसर दिने प्रस्ताव गरेको उल्लेख गरे ।