काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुरामा प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसार गर्न प्रशासनले नदिएको भन्नेबारे विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका विषयहरूप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिएको अवगत गराएको जानकारी दिएको छ।
स्वतन्त्र उम्मेदवार ढकालले प्रशासनले डडेल्धुरामा आफूलाई सामान्य तरिकाले चुनाव प्रचारप्रसारसमेत गर्न नदिएको तर गठबन्धनको तर्फबाट उम्मेदवार रहेका प्रतिस्पर्धी देउवालाई हेलिकोप्टरमा समेत आउन दिएको भन्दै सोमबार गुनासो गरेका थिए।
