डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले स्वतन्त्र उम्मेदवार सागर ढकालको निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध नभएको स्पष्ट गरेको छ ।
आगामी मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिताको पूर्ण पालना हुने गरी गरिने राजनीतिक दल र उम्मेदवारहरुको प्रचारप्रसार कार्यमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन आचार संहितामा व्यवस्था भए बमोजिम प्रचारप्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई संचालन गरिने प्रचार प्रसारका कार्यक्रमहरुमा संलग्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरुको आवश्यक सुरक्षाको प्रत्याभूति समेत गरिने प्रशासकीय अधिकृत हेम प्रसाद ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि ढकालले आफ्नो प्रचारप्रसारमा अवरोध भएको दाबीसहित सामाजिक सञ्जालमार्फत हारगुहार गरेका थिए ।