डडेल्धुरा । चार दिनदेखि गृहजिल्ला डडेल्धुरामा आसन्न मङ्सिर ४ गते हुने निर्वाचन लक्षित चुनावी सभामा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज भित्रीमधेशका दुई पालिकामा सम्बोधन गरेका छन् ।
दिउँसो आलिताल गाउँपालिकाको गोदाम बजार नजिक आयोजित चुनावी सभा सम्बोधनपछि प्रधानमन्त्री देउवाले परशुराम नगरपालिकाको जोगबुढामा अर्को चुनावी सभालाई सम्बोधन गरे ।
प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । यसपटक सत्ता गठबन्धनको साझा उम्मेदवार समेत रहेका प्रधानमन्त्री देउवाले आफ्नो सम्बोधनका क्रममा आसन्न निर्वाचनपछि गठबन्धनको सरकार बन्ने र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) का नेता तथा डडेल्धुराबाट प्रदेशसभा १ का उम्मेदवार रहेका खगराज भट्टलाई बनाउने बताए ।
“मेरो पार्टीले पनि भने त भइहाल्यो नि ! यसपछि गठबन्धनको सरकारमा मुख्यमन्त्री खगराज भट्ट नै हो”, जोगबुढा सभामा बोल्दै देउवाले भने, “तपाईंहरू जिताएर पठाउनुस् ।” राष्ट्रिय राजनीतिदेखि डडेल्धुराका साथै सुदूरपश्चिमको विकासका विषयमा समेत बोल्दै देउवाले यहाँ गठबन्धनले जिते सुदूरपश्चिममा विकास धेरै हुने बताए ।
परशुराम नगरपालिका–५ परिगाउँस्थित महाकाली नदीमा पक्की पुल बनाउन भारतीय प्रधानमन्त्रीसित कुराकानी गर्ने उनको भनाइ थियो । “त्यहाँ पुल बने भारत आवत जावतका साथै पूर्णागिरि दर्शनका लागि जान पनि सहज हुन्छ”, उनले भने, “यहाँको आलितालदेखि महाकालीसम्म रङ्गुन खोलाको नदी कटान नियन्त्रणका लागि ठूलो योजना अघि सारिने छ ।” त्यसका साथै दैजी–जोगबुढा सडक, बुडर–जोगबुढा सडक कालोपत्रे, यहाँका खोलानालामा पुल निर्माणका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्दै लैजाने प्रधानमन्त्री देउवाको भनाइ थियो ।
आसन्न निर्वाचनपछि गठबन्धनको सरकार बने मात्रै लोकतन्त्र र समावेशीतन्त्र हरण गर्न नसक्ने व्यवस्था हुने उनले बताए । “ओलीजी (नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली) ले संविधान नै च्यात्न खोज्नुभयो, जथाभावी संसद् भङ्ग गर्नुभयो”, उनले भने, “अति भएपछि हामी मिलेर एकभएर अगाडि बढेका हौँ ।”
त्यसैगरी जोगबुढाको चुनावी सभामा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित भएको बताए ।
चुनावी सभामा प्रधानमन्त्री पत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले जनताको अधिकार खोस्ने प्रवृत्ति प्रतिपक्षी दलका नेताले देखाएपछि कांग्रेसलगायत ठूला दलका शीर्ष नेताहरू एकजुट भएको बताइन् ।
सत्ता गठबन्धनबाट डडेल्धुराको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार माओवादी नेता खगराज भट्टले डडेल्धुराबासीका लागि सयौँ वर्षसम्म सम्झिन सक्ने खालका काम गर्ने हुटहुटी प्रधानमन्त्री देउवामा रहेको बताए । चार दिनसम्म गृहजिल्लाका विभिन्न पालिकामा चुनावीसभा सकेर प्रधानमन्त्री देउवा आइतबार साँझ धनगढी फर्किएका छन् ।