काठमाडौँ । निर्वाचन आयोगले सतोपाटी डटकमलाई प्रकाशित समाचार हटाउन दिएको निर्देशन सच्याउने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संचार संस्थाको अनुगमन आयोगले नगर्ने बताएका छन् । उनले आयोगले आचारसंहिता पालना भए नभएको मात्र हेर्ने भएकोले कुनै शाखाले त्यस्तो स्पष्टीकरण सोधेको भए सच्याउने बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘यो जहाँसम्म मिडियाको अनुगमन कुन चिट्ठी कहिले के लेख्यो भन्ने विषय चाँही ती गौण हुन । स्पष्टीकरण सोध्न एउटा टिम बनाइएको छ । उहाँहरूले हेर्नु हुन्छ । अनुगमन गर्नु हुन्छ । सिधा सोध्नु हुन्छ । किनभने स्पष्टीकरण सोध्नका लागि आयोगले अधिकार प्रत्योजन गरेको छ । कारबाही चाँही आयोगले गर्नुपर्ने भएकाले पछि हुन्छ । हामी त्यसलाई सच्याउँछौंं । म फेरि पनि प्रष्ट पार्न चाहन्छु–आयोगले कुनै पनि मिडियाको अनुगमन गर्दैन । गर्यो भने पनि के रहेछ भनेर थाहा पाउन मात्रै गर्छ । यदि आचारसंहिता विपरीत काम भएको छ भने त्यो कुरा प्रेस काउन्सिलले हेर्ने हो ।’
आयोगले शनिबार सेतोपाटी डटकमलाई स्पष्टीकरण सोध्दै प्रकाशित समाचार हटाउन निर्देशन दिएको थियो । झापा १ बाट एमाले उम्मेदवार रहेका अग्नि खरेलका छोरा अमेरिकी सेनामा रहेको विषयमा समाचार प्रकाशित भएको थियो ।