काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन र आफूले जनतालाई भ्रममा पार्ने कुनै काम नगर्ने र झूठा आश्वासन पनि नदिने बताएका छन् ।
उनले केही राजनीतिक दल र उनीहरुका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो र गर्छौं भन्ने जस्ता झूठा आवश्वासन बाँडेको जनाउँदै जनतालाई भ्रममा पार्ने काम राजनीतिक नेतृत्वले गर्न नहुने जनाए ।
पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देहीको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य खाँणले आइतबार बुटवल उपमहानगरपालिका–१५ मा आयोजित कार्यक्रममा बोल्दै निर्वाचन जित्नका लागि जनतालाई भ्रममा पार्ने नेताहरु सफल नहुने र त्यस्ता उम्मेदवारलाई जनताले समयमै चिन्नुपर्ने बताए ।
गृहमन्त्री खाँणले गौतमबुद्ध विमानस्थल हामीले बनाएको, विशेष आर्थिक क्षेत्र (सेज), बेलहिया–बुटवल व्यापारिक मार्ग, तिनाउ, दानव नदीमा बनेका पुलहरु हामीले निर्माण गरेको हो भन्ने जस्ता महत्वपूर्ण योजनाहरु देखाएर जस लिने कोसिस गरेको भन्दै यथार्थ बुझ्न आम मतदातासँग उनले आग्रह गरे ।