काठमाडौँ । आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निर्वाचन आयोगले सेतोपाटी अनलाइनलाई कारबाही गर्ने भन्दै धम्कीपूर्ण स्पष्टीकरण सोधेको छ । अनलाइनमा प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन आयोगले निर्देशनसमेत दिएको छ ।
सञ्चारमाध्यमको नियमन र अनुगमन गर्ने जिम्मेवारी पाएको प्रेस काउन्सिलको अधिकारमाथि हस्तक्षेप गर्दै आयोगले सञ्चारमाध्यममा प्रकाशित भएको समाचार हटाउन आयोगले ठाडो हस्तक्षेप गरेको हो । आयोगले सेतोपाटीलाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेसँगै प्रेस काउन्सिललाई ‘अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा, नेपाली नागरिकता कायमै’ शीर्षकको समाचार तत्काल हटाउन लगाई आवश्यक कारबाही गर्न निर्देशन दिएको छ ।
आयोगमा मिडियामा प्रकाशन तथा प्रसारण हुने सामग्रीको निगरानी गर्न प्रेस अफिसको स्थापना गरेको छ। निर्वाचनलाई प्रभावित पार्ने, गलत सूचना आए तत्काल हटाउन सिफारिस गर्न प्रेस अफिस स्थापना गरेको आयोगले यसअघि पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।
‘निर्वाचनमा उम्मेदवार भएका व्यक्ति तथा निजको परिवारको चरित्र हत्या गर्ने वा व्यक्तिगत लाञ्छना लगाउने गरी सेतोपाटी डटकममा उक्त समाचार प्रकाशन भएका देखिएकोले चौबीस घण्टाभित्र सो समाचार तत्काल हटाइ स्पष्ट जवाफ उपलब्ध गराई दिनुहुन निर्णयानुसार अनुरोध गरिन्छ,’आयोगले सेतोपाटीको प्रधानसम्पादकलाई सोधेको स्पष्टीकरणमा भनिएको छ,‘गलत र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न मिल्छ मिल्दैन रु निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम सेतोपाटी डटकमलाई कारबाही किन गर्नु नपर्ने हो रु’ यो दफामा आचारसंहिता उल्लंघन गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ ।
सेतोपाटीको समाचारले चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने सामग्री छापेको आयोगको ठहर छ ।