पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ (१) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले गठबन्धनले नजित्दा भूमिहीनलाई जग्गाधनी पुर्जा बाँड्ने प्रक्रिया उल्टिने खतरा औँल्याएका छन्।
माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य उम्मेदवार कोइरालाले पोखरा–२९ पट्नेरीमा सुकुम्वासीको भेलालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले नै लालपुर्जा वितरण गर्ने बताएका हुन् ।
माओवादी केन्द्रले पाँच वर्षमा भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्ने प्रतिबद्धता गरेकोमा हाल गठबन्धन सरकारले उक्त काम गरिरहेको उनले बताए ।
‘लालपुर्जा वितरण, निस्सा वितरण सुरु गरिसकेको र केहीले मात्रै प्राप्त गर्न बाँकी छ,’ उनले भने, ‘अबको चुनावबाट गठबन्धनको सरकार बनेर बाँकी काम पूरा हुन्छ । होइन भने त्यो प्रक्रिया पछाडि फर्किने सम्भावना छ ।’
गठबन्धन बाहेकको सरकार बन्दा सुकुम्वासीलाई भोट बैङ्क बनाइरहने प्रवृत्ति दोहोरिने उनको भनाइ थियो। पोखरा महानगरपालिकामा एमालेबाट निर्वाचित मेयर हुँदा नै निस्सा वितरण गर्न नमान्दा आन्दोलन नै गर्नुपरेको उनले स्मरण गरे ।