धनगढी । कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण मतहले आगामी निर्वाचनमा नेपाली कांग्रेस ८० भन्दा बढी क्षेत्रमा विजयी हुने बताएका छन्।
धनगढीमा शनिबार पत्रकार सम्मेलनमा नेता महतले कांग्रेसको भागमा परेका ९१ क्षेत्रहरुमा ८० भन्दा बढीमा विजयी हुने दाबी गरेका हुन्।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका महतले मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनको पक्षमा बहुमत आउने बताए।
देशब्यापी गठबन्धनका पक्षमा जनलहर रहेको बताउँदै महतले एमाले अध्यक्ष ओलीले गर्न नसकेका काम गठबन्धनले गरेको जानकारी दिए।सबै क्षेत्रमा गठबन्धनका दलहरुले एकले अर्कालाई सहयोग गर्नुपर्ने उनले बताए। ओलीले कामभन्दा बढी गफ दिएको उनको आरोप छ।
नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रअनुसार काम हुने उनको दाबी छ। नेपालमा काम गर्ने नेताका रुपमा शेरबहादुर देउवा मात्र रहेकाले उनको नेतृत्व अझै आवश्यक रहेको महतले बताए।