काठमाडौँ । डडेल्धुरामा नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ललाई सहयोग गर्ने नेकपा एमालेले निष्कर्ष निकालेको छ । डडेल्धुरामा एमाले र कांग्रेस बीपीबीच भाँडिएको चुनावी तालमेल पुनः कायम भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महेन्द्रनगरको चुनावी सभामा डडेलधुरामा मल्ललाई समर्थन गर्न निर्देशन दिएका थिए । ‘हामी हाम्रो प्रतिबद्धतामा कायम छौं । मैले सुने त्यहाँ कसैले वक्तव्य निकाल्यो भनेर । तर त्यस्तो अधिकार अरुलाई छैन,’ ओलीले भने ।
डडेलधुरा एमालेले भने मल्ललाई समर्थन नगर्ने निर्णय गरेको थियो । एमाले डडेलधुराका अध्यक्ष प्रकाश साउद र सचिव शिवराम ताम्राकारले विज्ञप्ति जारी गर्दै स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीलाई समर्थन गरेका थिए ।
तर ओलीले त्यो विज्ञप्ति निकाल्ने अधिकारी उनीहरुलाई नभएको भन्दै मल्ललाई समर्थन गर्न निर्देशन दिएका थिए । ओलीको निर्देशनपछि एमाले डडेल्धुराले मल्ललाई समर्थन गर्न बाध्य भएको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग एमाले र कांग्रेस बीपीको साझा उम्मेदवारका रुपमा मल्लले प्रतिस्पर्धा गर्ने निश्चित भएको हो । कांग्रेस बिपीसँग चुनावी तालमेल गर्ने भन्दै एमालेले डडेलधुरामा प्रतिनिधिसभा तर्फको उम्मेदवारी फिर्ता लिएको थियो ।
प्रतिनिधिसभामा कांग्रेस बिपी र दुवै प्रदेशसभा एमालेले लिने गरी चुनावी तालमेल भएको थियो । तर मल्लले प्रदेश (२)मा सत्ता गठबन्धनमा विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका तारा जोशीलाई समर्थन गरेपछि एमालेले समर्थन फिर्ता लिएको थियो ।
त्यसपछि डडल्धुरामा प्रतिनिधिसभा उम्मेदवार विहीन भएको एमाले डडेल्धुराले एमालेमा विद्रोह गरी स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीलाई समर्थन गरेपछि मल्ल दबावमा परेका थिए ।
यो बीचमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले फोन गरेर मल्ललाई पार्टीको समर्थन रहने बताएका थिए । ओलीले समर्थनको सार्वजनिक घोषणा गरेपछि मल्ल पनि ढुक्क देखिएका छन् ।