धनगढी । बङ्गुर र सुँगुरमा फैलिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ रोग कैलालीमा पनि देखिएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा. नरेशप्रसाद जोशीले भजनी नगरपालिका-३ को बडिमालिका कृषि प्रवर्द्धन केन्द्र प्रालिको फार्ममा पालिएको बङ्गुर मरेपछि गरिएको परीक्षणबाट अफ्रिकन स्वाइन फिभर पोजिटिभ पुष्टि भएको जानकारी दिए।
यो रोगको सङ्क्रमणपछि सुँगुर तथा बङ्गुरमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छट्पटाउने, चाल धरमराउने, तुहिनेजस्ता लक्षण भई बथानमा एकसाथ ठूलो सङ्ख्यामा सुँगुर, बङ्गुर तथा बँदेल मर्ने गरेको बताइएको छ।
यो रोग खासगरी रोगी बङ्गुर तथा त्यसका पाठापाठी वा मासु, रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा रोग छिटो फैलिन सक्ने बताइएको छ। यो रोगविरुद्ध हालसम्म कुनै खोपको उत्पादन नभई प्रभावकारी उपचारको व्यवस्थासमेत नभएको अवस्थामा सङ्क्रमण फैलिएमा एकसाथ ठूलो सङ्ख्यामा बङ्गुर तथा सुँगुर मर्न गई ठूलो क्षति पुग्न सक्ने पशु चिकित्सले बताएका छन्।
यो रोग पशुपन्छीबाट मान्छेमा नसर्ने बताइएको छ।पशु रोग अन्वेषण प्रयोगशाला धनगढीले बङ्गुर तथा सुँगुरपालन व्यवसायीलाई खोर र फार्ममा जैविक सुरक्षाका विधिको अवलम्बन गर्न, खोरलाई नियमितरूपमा सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिनजस्ता रसायन तथा सामग्रीको प्रयोग गरी निःसङ्क्रमण गर्न ध्यान दिनुपर्ने सल्लाह दिएको छ।
त्यसैगरी रोगको शंका लागेका पशुलाई बथानबाट छुट्याएर अलग्गै राख्न, तिनको नमूना प्रयोगशालामा पठाउन र रोग प्रमाणित भएमा सो खोरमा रहेका पशुलाई नष्ट गर्न, मरेको पशुलाई खाडलमा गाड्नसमेत सल्लाह दिइएको छ।