काठमाडौँ । महोत्तरीसहितका मिथिला क्षेत्रमा बुधबार अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो ।
पर्वमा कार्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिली परम्परा छ । पर्वविशेषमा आज महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा बिहानैदेखि युवापङ्क्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् ।
यो पर्वमा घर नजिकै, बगैँचा वा वनक्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन रहेको छ ।पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित साकाहारी खानेकुरा मात्र भोजमा पकाउने, खाने परम्परा छ ।
पर्वमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिएका छन् । कार्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने हिन्दू मैथिल जनविश्वास छ ।