पर्वत । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति आउन तीन साता मात्रै बाँकी रहँदा पर्वतका राजनीतिक दलहरु सक्रियतापूर्वक प्रचारप्रसारमा जुटेका छन् ।
नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनावी अभियान मोदी गाउँपालिका वडा नं. ४ क्याङ र वडा नं. ५ बाजुङमा सम्पन्न भएको छ । क्याङको लेसपार, खुईजरी, क्याङ र बाजुङको पाखाथर र बाउसेमा चुनावी सभा र कोणसभा सम्पन्न भएको छ ।
स्थानीयवासीले एमाले उम्मेदवारहरुसँग पातीचौर–बाजुङ– क्याङ सडक कालोपत्रेका लागि माग गरेका छन् । दुईवटै वडाका बासिन्दाले यो सडक खण्डको तत्काल कालोपत्रेका लागि प्रमुख माग राखेका छन् । त्यसैगरी युवाहरुले खेलमैदान, महिलाहरुले आयआर्जनका लागि सिपमुलक तालिम तथा विभिन्न बस्ती जोड्ने सडकको स्तोरन्नतीको माग समेत गरेका छन् ।
मतदाताहरुको मागलाई सम्वोधन गर्दै एमाले केन्द्रीय सदस्य पदम गिरीले पातीचौरदेखि क्याङ लेसपार सम्मको सडक कालोपत्रेका लागि सर्वेक्षण भैसकेको र आरसिआईपी मार्फत योजना अघि बढेको बताए ।
काँग्रेस नेतृत्वको सरकार आएपछि उक्त सडकको बजेट कटौती भएको बताउँदै आफुले निर्वाचन जितेर गएलगत्तै यसै वर्षदेखि सडक कालोपत्रेको काम सुचारु हुने प्रतिवद्धता उम्मेदवार गिरीको छ । विगत पाँच वर्षमा जिल्लामा १ सय ११८ किलोमिटर सडक कालोपत्रे गर्ने, ११ सय घरमा टिनको छाना हाल्ने लगायत चौतर्फि क्षेत्रमा कामहरु गरेको स्मरण गर्दै कतिपय योजनाहरु कोभिड–१९ का कारणले पुर्णता हुन नपाएको र कतिपय योजनाहरु पछिल्लो देउवा सरकारले बजेट कटौती गरिदिँदा रोकिएको बताए। उनले नेकपा एमालेको सरकार आएपछि दिन दोगुना रात चौगुनाको दरले विकास निर्माणका काम अघि बढ्ने उहाँको भनाई रहेको छ ।
त्यसैगरी प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरले ग्रामीण क्षेत्रमा आवश्यक संरचनाहरुको निर्माण गरी पलायन भएका नागरिकलाई गाउँ फर्काउनका लागि आफुले विशेष योजनासहित अघि बढ्ने बताए। आफु भाषण भन्दा पनि काम गरेर देखाउने व्यक्ति भएकाले भोट दिएर नागरिकको सेवा दिन मौका दिन आग्रह गरे।
यता नेकपा एमालेका प्रदेश ख का उम्मेदवार मित्रलाल बस्यालको चुनावी अभियान फलेवास नगरपालिका वडा नं. १० कुर्घा र वडा नं. ६ देविस्थानमा सम्पन्न भएको छ ।