ललितपुर । ललितपुरको ग्वार्कोमा स्कार्पियो गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।शनिबार राति सातदोबाटोबाट कोटेश्वरतर्फ जाँदै गरेको निलो रंगको स्कार्पियो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीले जानकारी दिए।
घटनाबारे प्रहरीलाई राति ७:५३ मिनेटमा खबर भएको थियो। तर ठक्कर दिने गाडी फरार भइसकेको थियो। प्रत्यक्षदर्शीले प्रहरीलाई दिएको जानकारीका अनुसार ठक्कर दिने गाडी निलो रंगको स्कार्पियो हो। उक्त गाडीको नम्बर भने खुलिनसकेको एसपी शाहीले बताए।
यता मृतक महिलाको पनि पहिचान खुलेको छैन। सनाखत गर्न प्रहरीले उनको फोटोसहित सबै प्रहरी युनिटहरूमा पत्राचार गरिसकेको छ।मृतक महिला अन्दाजी २५ देखि ३० वर्षकी छन्। उनलाई ठक्कर दिएपछि घटनास्थलमा पुगेको प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्याएको थियो।
चिकित्सकले उनलाई मृत घोषणा गरेको एसपी शाहीले बताए।प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। फरार भएका चालक र गाडीको खोजी गरिरहेको छ।