काठमाडौँ । सत्ता गठबन्धनभित्र सर्लाही–२ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । यी दुवै दल सत्तारुढ गठबन्धनभित्र छन् ।
सत्ता गठबन्धनले सुरुमा निकालेको सूचीमा महिन्द्र राय यादव गठबन्धनका आधिकारिक उम्मेदवार रहेको उल्लेख थियो । त्यहाँ मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै लोसपाका नेता महतोले उम्मेदवारी दिएका थिए ।
तर, पछिल्लो सहमति अनुसार सर्लाही–२ मा यादव र महतोबीच मित्रवत प्रतिस्पर्धा हुने भनिएको छ । तर उक्त निर्णयप्रति यादव असन्तुष्ट देखिएका छन् । उनी सर्लाही–२ मा आफू नै सत्तारुढ गठबन्धनको साझा उम्मेदवार रहेको दाबी गर्दैछन् ।
कांग्रेसले गठबन्धनको गरिमा र महत्त्वलाई कायम राख्न नसकेको उनको गुनासो थियो । अधिकांश ठाउँमा कांग्रेसका बागी उम्मेदवार रहेको बताउँदै उनले हालसम्म त्यसरी उम्मेदवारी दिएका कसैलाई कांग्रेसले कारवाही नगरेको गुनासो समेत गरे ।सर्लाही–२ मा गठबन्धनको निर्णय विपरीत कांग्रेसबाट प्रदेशसभामा उम्मेदवारी परेको तर हालसम्म कांग्रेसले हालसम्म त्यसको बारेमा केही नबोलेको उनको भनाइ छ ।