काठमाडौँ । गृह मन्त्रालयले महोत्तरीको भंगाह नगरपालिकामा भएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।
बिहीवार भंगाहा नगरपालिका वडा नं.८ मा छठ पर्वको अवसरमा आयोजित कलश यात्राको क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद सिर्जना भएको थियो । उक्त घटनाबारे छानबिन गर्न मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
समितिमा प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य रहेको मन्त्रालयले जनाएको छ । पोखरेल नेतृत्वको समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
