झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको चुनावमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् ।
एमाले र राप्रपाले भद्रपुरमा आज शुक्रवार आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आउँदो चुनावमा एमालेले बहुमत प्राप्त गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सँग संयुक्त सरकार गठन गर्ने जिकिर गरे ।
अध्यक्ष ओलीले झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए ।
उनले एमालेको इज्जतका लागि भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई जिताउनुपर्ने भएको हुँदा राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न कार्यकर्तालाई निर्देशन दिए।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको भन्दै सबै कार्यकर्तालाई निर्धक्क भएर हलोमा भोट हाल्न आग्रह गरे ।