काठमाडौं । सत्ता गठबन्धनले रुपन्देही २ मा जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ।
रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा जनमुक्ति पार्टीका उम्मेदवार थापालाई गठबन्धनले साझा उम्मेदवारका रूपमा समर्थन गर्ने निर्णय गरेको हो।
रुपन्देही २ का गठबन्धनतर्फका उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको थियो।
यो क्षेत्रमा एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल चुनावी प्रतिस्पर्धामा छन्। रुपन्देही २ मा बुटवल उपमहानगरपालिकाका १ देखि १३, तिलोत्तमा नगरपालिकाका १ देखि ६ र सैनामैना नगरपालिकाका १ देखि ४ नम्बर वडा पर्छन्। यस क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छन्।
