धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका थप ३ जिल्लाका ३ नेताहरुलाई कारबाही गरेको छ। एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार उनीहरुमाथि कारबाही गरेको हो।
एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरु जयराज पाण्डये (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई पार्टीबाटै निकालिएको हो।
उनीहरुलाई पार्टीको विधानको धारा ८१ (१) बमोजिम साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरिएको गरिएको एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जानकारी दिए ।
उनीहरुले आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध गतिविधि गरेको एमालेको ठहर छ। एमाले सुदूरपश्चिमले पार्टी विधानको धारा ८०(६) बमोजिमको गम्भीर अनुशासन उल्लंघन गरेको भन्दै उनीहरुमाथि कारबाही गरिएको जनाएको छ।
यस अघि सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदी ,केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द्रीय निर्देशनअनुसार सम्बन्धित कमिटीले पार्टीबाट निष्कासन गरेको थियो ।