काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले आफ्नो एकमात्र अजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन्।
बुधबार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१औं शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरु कुनै अजेण्डा आफूहरुसँग नभएको बताइन्।
अझै पनि आफूहरुले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै उनले देशलाई क्रमशः समृद्ध बनाउँदै लाने बताइन्। विगतमा गरिएका सम्पूर्ण कामहरुको पनि जिम्मेवारी लिने उनले उल्लेख गरिन्।
‘हामी आज तपाईंहरुको सामु आएका छौँ। देशको समृद्धिकै लागि हो। अरु हामीसँग अजेण्डा केही पनि छैन। यो देशको विकास बाहेक अरु छैन। हामीले भनेको जस्तो देश भएको छैन होला। तर हामी क्रमशः यो देशलाई समृद्ध बनाउँछौ भनेर हामीले भन्दै आएका छौँ र विगतमा जे–जस्ता कामहरु भए ती सम्पूर्ण कामहरुलाई हामी जिम्मेवारी लिन्छौँ र अगाडि बढाउँछौ भनेर हामीले आफ्नो एजेण्डा तय गरेका छौँ,’ घर्तीले भनिन्।
सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेकी नेता घर्तीले आफू निर्वाचित भएमा सबै पेसा, व्यवसायका मानिसहरुको हक अधिकारहरुको सुनिश्चित हुनेगरी कानुन बनाउने बताइन्।
‘सांसदको सबभन्दा ठूलो काम के हो भने जनताको कानुन बनाउने काम हो। देशको कानुन बनाउने काम हो। धेरै कानुनहरु निर्माण गर्नुपर्ने बाँकी छन्। मैले कसैको पनि हक नछिनिने गरेर यहाँहरु सबैको हक, अधिकारहरु ग्यारेन्टी हुने गरेर आफुले कानुन लेख्ने कुरामा सधैं अग्रपंक्तिमा रहनेछु,’ घर्तीले भनिन्।