काठमाडौँ । गत असोज १९ गतेदेखिको निरन्तर वर्षाका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय अन्तर्गत दैलेख, कालीकोट र जुम्लाखण्डमा करिब ४० किलोमिटर सडक पहिरोका कारण पूर्णरूपमा बन्द भएको थियो । सडक अवरुद्ध बनेपछि दसैँ मानेर फर्कने मुगु, जुम्ला र कालीकोटका नागरिक तथा बाह्य पर्यटकहरू प्रभावित बनेका थिए ।
सडक डिभिजन कार्यालय जुम्ला र नेपाली सेनाको टोली २४ सैं घण्टा पहिरो हटाउन खटिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार अवरुद्ध भएको सडक २० दिनपछि खुलेको हो । सडक खुलेपछि दसैँमा घर गएका र तिहारमा घर जानेहरूलाई राहत भएको छ । सडक खुले पनि कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भने कायमै छ ।