काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा हेलिकप्टर लगायत सरकारी स्रोत साधनको प्रयोगमा रोक लगाउने भएको छ ।
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गर्ने भन्दै चुनाव प्रचारप्रसारमा सरकारी साधन स्रोतको प्रयोग नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत् मन्त्री तथा मुख्यमन्त्री वा प्रदेशका मन्त्रीहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री लगायत मन्त्रीहरूले हेलिकप्टर प्रयोग गरी विभिन्न स्थानमा गई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि गरेको घटना सार्वजनिक भएपछि आयोगले यसमा रोक लगाउने भएको हो ।
आयोगले प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरू समेतले हेलिकप्टर सेवा प्रयोग गरेको पाइएपछि हेलिकप्टर प्रयोग गर्दा लागेको खर्च कुन राजनीतिक दलको खर्चको सीमा भित्र पर्ने हो सो खुलाई पठाउन आयोगले निर्देशन दिएको आयोगका प्रवक्ता कमल भट्टराईले एक विज्ञप्ति जारी गर्दै जानकारी दिए ।
विज्ञप्तिमा भनिएको छ,'हेलिकप्टर सेवा प्रयोग गर्ने पदाधिकारीसँग सम्बन्धित राजनीतिक दलहरूलाई लेखी पठाउन पनि आयोगले निर्णय गरेको छ ।'

