काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच दलीय गठबन्धनले मुलुकमा आर्थिक विकास गर्छ भन्ने विश्वास दिनुपर्ने बताएका छन् । उनले मुलुकमा रहेका स्रोत र साधनहरूको उपयोग गरेर आर्थिक विकासमा जानुपर्ने बताए ।
पाँच दलीय गठबन्धनले काठमाडौंमा गरेको वाग्मती प्रदेश स्तरीय कार्यकर्ता भेलामा दाहालले आगामी दिनमा कसरी विकास गर्न सकिन्छ भन्ने स्पष्ट कुरा जनतामा पुर्याउनुपर्ने बताए ।
कम्युनिस्ट र कांग्रेस मिल्नु स्वाभाविक भएको भन्दै उनले अबको यात्रा सत्ताका लागि मात्रै नभएको बताए । पर्यटन, विद्युत्, जडिबुटीलगायतका स्रोतको माध्यमबाट मुलुकलाई आर्थिक समृद्धितिर लानुपर्ने उनको भनाइ थियो ।
पाँच दलीय गठबन्धनका कार्यकर्ताहरूमा पार्टीगत रूपमा पूर्वाग्रह रहेको र त्यसलाई अन्त्य गर्नुपर्ने दाहालले बताए । विगतमा कांग्रेस नेतृत्व र आफूले एउटै कागजमा हस्ताक्षर गरेर १२ बुँदे समझदारी गरेको बताउँदै उनले भोट एकअर्कालाई हाल्न गाह्रो नमान्न आग्रह गरेका थिए ।