भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि चलायमान गराउन नाका व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । उनले नाका सुव्यवस्थित गर्न सरकार लागि परेको जिकिर गरे।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनको तर्फबाट रूपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका मन्त्री खाणले आज भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हवाई तथा स्थल नाका व्यवस्थित नहुँदा मुलुकको आन्तरिक सुरक्षा र छिमेकी मुलुकहरू विरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर हुन सक्ने गतिविधि रोक्न पनि नाका व्यवस्थित गर्नुनपर्ने जरुरी रहेको औँल्याए ।
मन्त्री खाणले नेपालको भूमि प्रयोग गरी दुई छिमेकी मुलुकविरुद्ध हुन सक्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको र आगामी दिनमा यसतर्फ अझ चनाखो र गम्भीर ढङ्गले सरकार अगाडि बढ्ने विश्वास दिलाए ।