ललितपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरूले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताएका छन् । भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरूले सधैँ टिकट पाउनुपर्ने छ र ? भनी प्रश्नसमेत गरे ।
शनिबार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरूलाई टिकट नदिएर सो अवसर अरुलाई दिइएको स्पष्टीकरणसमेत दिए ।
ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेका एकाधले अरुलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरूले फेरि टिकट नपाउनु स्वभाविक भएको उल्लेख गर्दै त्यसको पछि नलाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।
उनले एमालेमा न्याय हुने र त्यो न्याय सापेक्षामा आधारित हुने आश्वासनसमेत दिए । आवश्यक्ताभन्दा बढी अवसर पाएकाहरू फेरि पनि अवसरको पछि कुदेको भन्दै ओलीले त्यस्ता प्रवृत्तिको पछि लाग्न नहुने बताए ।
अध्यक्ष ओलीले आगामी दिनमा योग्यता, क्षमता र योगदानको आधारमा हरेकलाई अवसर दिने प्रतिबद्धतासमेत गरे । उने मंसिर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टी नेतृत्वको बलियो सरकार बनाउनका लागि योगदान गर्न सबैलाई आह्वान गरे ।