काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि गठबन्धन दलहरू देशपनि बेच्न तयार रहेको बताएका छन्।
शनिबार नेकपा एमाले ललितपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले गठबन्धनको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको भन्दै सत्ता स्वार्थका लागि देशपनि बेच्न तयार रहेको आरोप लगाएका हुन्।
उनले गठबन्धनले चुनाव जित्नका लागि पैसाको खोलो नै बगाएको बताए। जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, भोट खसाउन नदिने लगाएतका षड्यन्त्र भइरहेको भन्दै ओलीले देशलाई भिडन्ततर्फ लाने षड्यन्त्रलाई बिफल बनाउनुपर्ने बताए।
उनले वर्तमान सरकारका कारण मुलुकमा महङ्गी, भ्रष्टाचार, अनियमितता बढेको आरोप लगाए। अहिले लाखौ रुपैयाँ लिएर भुटानी शरणार्थीलाई परिचय पत्र दिएर विदेश उडाउने धन्दा सरकारले चलाइरहेको उनले बताए।
ओलीले गठबन्धन सरकारकै कारण मुलुकको न्यायालय सेटिङको अखडामा परिणत भएको बताए। प्रधानन्यायाधीशलाई न्यायालय प्रवेश गर्न नदिने न्यायाधीशहरूले हडताल गर्ने लगायतका तमासा देखिनु दुर्भाग्य भएको बताए।
ओलीले अब एमालेभित्र कुनैपनि प्रकारको गुटबन्दी हुन नदिने बताए। पार्टीमा योगदान नै नभएकाहरूले पद नपाएकै कारण एमाले छाडेर विरोधमा उत्रिएको देखिएको उनको भनाइ छ। उनले अहिले देश बनाउने संकल्पका साथ एमाले अघि बढेको बताए।