विराटनगर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ मा सत्तारुढ गठबन्धनलाई जिताउन अपिल गरेका छन् ।
आज (शनिबार) विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी भेला कार्यक्रममा बोल्दै उनले गठबन्धनलाई जिाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिनुपर्ने बताएका हुन् ।
गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको प्रष्ट पारे । उनले जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको समेत बताए।
“ओलीजीले पनि राप्रपासँग गठबन्धन गर्नुभएको छ । उहाँले गठबन्धन गर्न हुने हामीले किन नहुने ?” देउवाले भने, “हाम्रो गठबन्धन चाहिँ संविधानको रक्षाका लागि हो । हामीलाई जिताएर ओलीजीलाई जवाफ दिनुहोस् ।”
प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त गर्दै भने, “विकास र परिवर्तनका निम्ति यो गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ ।”
रुख, कलम र गोलाकार भित्रको हँसिया हथौडा चिह्नमा भोट हाल्न कार्यकर्तामा अन्योल आउन नहुने बताउँदै उनले गठबन्धनमा उम्मेदवारलाई अत्यधिक भोट हालेर जिताउन अपिल गरे ।