बारा । निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजन श्रेष्ठविरुद्ध किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीकहाँ उजुरी परेको छ ।
१५ वर्षीया किशोरीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि प्रहरीले वडाध्यक्ष श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गर्न बारा जिल्ला अदालतबाट अनुमति दिइसकेको छ ।
तर वडाध्यक्ष श्रेष्ठ घटना भएदेखि नै वडाको काम छाडेर फरार भएकाले पक्राउ पर्न नसकेका हुन् । घटनालाई दबाउन खोजिए पनि दुई सातापछि घटनाबारे सार्वजनिक भएको हो ।
गत असोज २५ मा पीडितले इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएपछि प्रहरीले पीडितको स्वास्थ्य परीक्षण गराएको छ ।
दसैंको टीकाको राति ८ बजे वडाअध्यक्ष श्रेष्ठले बालिकालाई प्रलोभन देखाएर आफ्नै घरमा बोलाई बलात्कार गरेको पीडितबाट उजुरी आएको निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीव ओलीले बताए ।वडाध्यक्ष फरार भएपछि सेवाग्रहीसहित वडाको दैनिक प्रशासनिक कार्य भने प्रभावित भएको छ ।