काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरूलाई कारबाही गर्ने तयारी थालेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढाउन लागेको हो ।
बुधवार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारहरूले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए ।उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागिदार बन्ने देखिएको बताए।
आयुक्त भण्डारीले आचारसंहिता धेरै उल्लंघन हुने समय कार्तिक १८ देखि मंसिर २ भएकाले आफूले बनाएका नीति नियमको पूर्ण पालना र कार्यान्वयन गर्न उम्मेदवारहरूलाई आग्रह गरे । आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता अहिले पनि विभिन्न तरिकाबाट उल्लंघन भइरहेको भन्दै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो कोही उम्मेदवारहरूलाई पनि आयोगले कारबाही गर्ने चेतावनी दिए ।