काठमाडौं। सत्ता गठबन्धनले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलहरूका पक्षमा मतदान गर्न अपील गरेको छ।
मंगलबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संयुक्त अपील जारी गर्दै निर्वाचनमा गठबन्धन दलहरूका पक्षमा मतदान गर्न अपील गरेका छन्।
संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूका पक्षमा मतदान गर्न अपील गरिएको छ।
अहिले गठबन्धनको यो सरकार आउँदो आम निर्वाचनलाई पनि भयरहित र निस्पक्ष रुपमा सम्पन्न गर्न कटिवद्ध रहेको उल्लेख छ।
अपील पत्रमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधान माथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै मुलुक राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको छ। देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन भ्रष्टाचारमा शून्य सहनशीलता सहितको सुशासन र जनताको घरदैलोमै प्रभावकारी सेवाकोे सुनिश्चितता गर्दै उत्पादन वृद्धि र मुलुकभित्रै रोजगारीका पर्याप्त अवसरहरुको सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणको राष्ट्रिय कार्यभारलाई गठबन्धन दलले उच्च प्राथमिकता दिने छ।’
सबै राष्ट्रिय यथार्थको प्रकाशमा लोकतन्त्र, संविधान र विधिको शासनमार्फत् सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठबन्धनको आवश्यकतालाई मनन् गर्न र आगामी निर्वाचनमा यो गठबन्धनलाई अत्याधिक बहुमतका साथ विजयी गराउन हार्दिक अपील गरिएको छ।

