धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सभ्य समाज निर्माण प्रहरीकोमात्रै नभइ सबैको दायित्व रहेको बताएका छन् ।
६७ औं प्रहरी दिवसको अवसरमा सोमबार धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । ‘यो एउटा प्रहरीकोमात्रै दायित्व होइन । सरकार, प्रहरी, नागरिक, नागरिक समाज सबैको दायित्व हो’, उनले भने,‘सभ्य समाज निर्माणमा सबैको भूमिका उत्तिकै छ ।’ सभ्य समाज निर्माणका लागि प्रहरीले अगुवाइ गरिरहे पनि दायित्व सबैको रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्रीले प्रहरी र प्रहरीको अनुसन्धानलाई अहिलेको युग अनुसार आधुनिक बनाउनु पर्ने बताए । उनले भने,‘अपराध नयाँ तरिकाले भइरहेकाले त्यसलाई नियन्त्रण गर्नका लागि प्रहरी र प्रहरीको अनुसन्धानलाई आधुनिक बनाउनु पर्छ ।’
प्रहरीलाई कसरी आधुनिक बनाउन सकिन्छ भन्ने विषय सबैको चासोको विषय रहेको मुख्यमन्त्रीको भनाइ थियो । उनले भने,‘अपराध जति तीव्र रुपमा बढिरहेको छ, स्वभाविक रुपमा त्यसलाई नियन्त्रणका लागि प्रहरी एक कदम अगाडि रहनु पर्दछ ।’
अहिले अवस्था परिवर्तन भएकाले प्रहरीमा उजुरी दिएपछि त्यसको सुनुवाइ छिटोछरितो हुनु पर्ने आम नागरिकको चाहना रहेको मुख्यमन्त्री भट्टको भनाइ थियो । ‘त्यसकारण यतापट्टि प्रहरीको ध्यान जानू पर्दछ । अपराध नियन्त्रण तीव्र गतिमा हुनु पर्दछ । यसका लागि म सम्पूर्ण प्रहरी अधिकृतहरु ध्यान दिन आग्रह गर्दछु’, उनले भने ।
गणतन्त्र आइसकेपछि हिजो र आजका प्रहरीले केही न केही फरक देखाउनु पर्ने मुख्यमन्त्रीको जोड थियो । यदि, त्यसो नभएमा व्यवस्थाप्रति नै आम जनताको नैराश्यता पैदा भइ विभिन्न अवरोध हुने उनले उल्लेख गरे । भट्टले भने,‘व्यवस्था परिवर्तन भइसकेपछि अहिलेको अवस्थामा सबैले आफूलाई रुपान्तरण गरेर जनताको पक्षमा काम गर्नु आजको आवश्यकता हो ।’
प्रहरी आफैमा राज्यको महत्वपूर्ण अङ्ग रहेको उल्लेख गर्दै उनले नजिकबाट जनताको सेवा गर्ने निकाय प्रहरी रहेको बताए । समाजमा रहेको अपराध नियन्त्रणका लागि प्रहरीले आफ्नो भूमिका निर्वाह गर्दै आएको भन्दै मुख्यमन्त्रीले अगाडि थपे,‘त्यो भूमिका निर्वाह गर्ने क्रममा कर्तव्यनिष्ठ भएर काम गरी आफ्नो इतिहास निर्माण गर्न नेपाल प्रहरी सफल भएको छ ।’
अनुसन्धानको विषयमा चाहे कुनै विपद् आएको बेलामा वा अपराधलाई नियन्त्रण गर्ने सवालमा नेपाल प्रहरीले एउटा इतिहास कायम गरेको मुख्यमन्त्रीको भनाइ थियो । हिजो एक किसिमले घट्ने अपराधहरु आज फरक तरिकाले घटिरहेका भन्दै उनले बढिरहेको अपराध नियन्त्रण र आफूलाई रुपान्तरण गर्ने कार्यलाई प्रहरीले प्राथमिकता दिनु पर्ने बताए ।
पाँच वर्षसम्म प्रहरी समायोजन हुन नसके पनि अब हुने निर्वाचन पश्चात प्रहरी समायोजन पनि छिट्टै हुने आफूले विश्वास गरेको मुख्यमन्त्रीको भनाइ थियो । ‘हामीले आधारशीला तय गरि दिएका छौं’, उनले भने,‘निर्वाचन पश्चात अब आउने सरकारले प्रहरी समायोजन गर्नेछ ।’ अहिलेको आवश्यकतानुसार प्रहरीलाई सुविधा सम्पन्न गर्ने सवालमा प्रदेश सरकार नचुक्ने मुख्यमन्त्री भट्टले बताए । उनले प्रहरीको जनताप्रतिको समर्पण र कर्तव्य पालनाप्रतिको साहस अझ उच्च हुने आफूले विश्वास लिएको बताए ।