धनुषा । नेपाली कांग्रेसका पूर्वउसभापति विमलेन्द्र निधिले धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा पाँचदलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल कुमार झालाई जिताउन अनुरोध गरेका छन् ।
सोमबार जनकपुरधाम विमानस्थलमा बोल्दै नेता निधिले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । उनले अबदेखि आफु गृहनगरमै रहेर गठबन्धन दलका उम्मेदवारलाई जिताउन हरसम्भवरुपमा लागिपर्ने बताए । उनले यसका लागि अबदेखि आफू चुनावसम्म जनकपुरधाममै रहने बताए ।
पाँचदलीय गठबन्धनबाट धनुषा–३ मा उम्मेदवार रहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झालाई जिताउनका लागि पूर्वउपसभापति निधि जनकपुरधाम आईपुगेका हुन् ।उनले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि चुनावी प्रचारप्रसारमा समेत लाग्न कार्यकर्तालाई आग्रह गरे ।
उनलाई स्वागत गर्नका लागि पूर्वमन्त्रीसमेत रहेका धनुषा–३ का आकांक्षी उम्मेदवार अनिलकुमार झा, प्रदेश सभा सदस्य पदका उम्मेदवारद्वय रामसरोज यादव र परमेश्वर साहलगायत काँग्रेस, लोसपासहित पाँचदलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।