काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न गराउन निर्देशन दिएका छन् ।
प्रमुख आयुक्त थपलियाले पोखरामा आज आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै आचारसंहिताको उल्लङ्घन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गरे ।
उनले आयोगले तोकेका अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लङ्घन गर्ने उम्मेदवारलाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्न निर्देशन दिए । उम्मेदवारबाट चित्त बुझ्दो जवाफ पेस नभएमा उम्मेदवार रद्द गर्ने समेतको अधिकार निर्वाचन आयोगलाई भएकोले त्यससम्बन्धी विवरण स्पष्ट खुलाइ आयोगमा लेखि पठाउन उनले निर्देशन दिए ।
प्रमुख आयुक्त थपलियाका अनुसार निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर आयोगले निर्वाचन आचारसंहिता, २०७९ निर्माण गरेको छ ।