खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका तीनजना आगामी मङ्सिर–४ गते हुने प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन्।
नेकपा (एमाले)बाट पाँचकर्ण राई, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट वीरबलकाजी राई र जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई प्रदेशसभा ‘क’मा उम्मेदवार बनेका छन्। एकै वडाका तीन नेताले गत आइतबार आ–आफ्नो राजनीतिक दलबाट र्यालीसहित दलबलका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
पाँचकर्ण र राकेश साविकको बुइपा गाविस वडा नं २ का स्थायी बासिन्दा हुन् भने, वीरबलकाजी साविकको बुइपा–१ का हन्। पाँचकर्ण काका र राकेश नातामा भतिजा पर्छन्। बुइपाबाट तीन नेता प्रदेशसभा सदस्यका लागि उम्मेदवार भएपछि आफन्तकै मत बाँडिने अनुमान गरिएको छ।
एकै वडाका तीन नेताले टिकट पाउनुलाई दलहरुले संयोग भनेका छन्। जिल्लाको सबैभन्दा बढी मतदाता रहेको वडाका तीन नेताले एउटै पदमा उम्मेदवारी दिएपछि कसले बाजी मार्छन् भन्नेबारे निक्कै महत्वका साथ हेरिएको छ।
उम्मेदवारी दर्तासँगै तीनैजना नेताहरु चुनावी अभियानमा जुटेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा गरी २६ जनाको उम्मेदवारी कायम रहेको जिल्लामा तीन नेतासँगै सबै उम्मेदवारलाई मतदाताको घरमा पुग्ने, चुनावी कार्यक्रमसम्बन्धी योजना बनाउनेलगायतका चटारो सुरु भएको छ।