ताप्लेजुङ। ताप्लेजुङमा दुर्लभ रेड पान्डा (रातो हाब्रे) संरक्षण गर्न कुकुरको बन्ध्याकरण गरिएको छ।
घर पालुवा तथा सामुदायिक (भुस्याहा) कुकुरको आक्रमणबाट रेड पान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण गरिएको हो।
रेड पान्डाको संरक्षणमा क्रियाशील संस्था रेड पान्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्च ताप्लेजुङले कुकुरको बन्ध्याकरण अभियान चलाएको हो। रेड पान्डा पाइने क्षेत्र तथा वासस्थान रहेको नजिकका गाउँघरमा रहेका कुकुरको बन्ध्याकरण गरिएको हो।
कुकुरको आक्रमणका कारण दुर्लभ रेड पान्डाको अस्तित्व थप सङ्कटमा पर्दै गएपछि रेड पान्डा संरक्षण गर्ने उद्देश्य राखेर कुकुर नियन्त्रण गर्ने उपाय स्वरूप बन्ध्याकरण अभियान थालिएको मञ्चका कार्यक्रम संयोजक रमेश राईको भनाइ छ। रेड पान्डा संरक्षण गर्नलाई कुकुर नियन्त्रण गर्न आवश्यक देखिएकाले स्थानीय तहसँग समन्वय गरेर बन्ध्याकरण अभियान सञ्चालन गर्दै आएको संयोजक राईले बताए।
बन्ध्याकरण गर्दा र भिटामिनले कुकुरको शरीर मोटाएर भद्दा भई सिकार गर्न नरुचाउने हुँदा यसले रेड पान्डा संरक्षणमा सहयोग पुग्ने मञ्चको विश्वास छ।