काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ ।
गोरखा- २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिन प्रचण्ड बाजागाजासहित पुगेका थिए । सोही प्रकरणमा आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको हो ।
‘बाजागाजासहित किन गएको ? किन कारबाही नगर्ने ?’ आयोगले सोधेको प्रस्टीकरणमा भनिएको छ । आयोगले जारी गरेको आचारसंहितमा २५ जनाभन्दा बढी लैजान नपाउने र बाजागाजा बजाउन पनि नपाउने प्रावधान छ ।
‘निर्वाचनको उम्मेदवारको मनोनयन पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने,’ आयोगले दलहरूलाई दिएको निर्देशनमा भनिएको छ ।
आयोगले दिएको निर्देशनविपरीत प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दिएका थिए । बाजागाजासहित गएको भिडियो प्रचण्डको आधिकारिक फेसबुकबाट समेत सार्वजनिक गरिएको छ ।
यसरी आचरसंसहिता उल्लंघन भएको पाइएमा १ लाख जरिवाना र उम्मेदवारीसमेत रद्द हुनसक्छ । निर्वाचन आयोग ऐन–२०७३ को दफा २३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको छ ।