डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उमेदवारी कायम रहने भएको छ।उनको उमेदवारीविरुद्ध परेको उजुरी कानूनसम्मत नदेखिएको भन्दै उमेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।
एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।
देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन्। नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ।