काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौंका ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्दा आफ्नो भागमा परेका ६ वटा क्षेत्रमा उम्मेदवार तय भएको हो । टिकट पाउनेमा अधिकांश पुरानै अनुहार छन् ।
महामन्त्री गगन थापा काठमाडौं ४ बाटै चुनाव लड्ने भएका छन् । यसअघि उनी सर्लाही ४ बाट चुनाव लड्ने भनेर उनकै समूहका नेताहरुले मिडियामा बताएका थिए । गगन २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा चुनावमा काठमाडौं ४ बाट विजयी भएका थिए ।
काठमाडौं १ मा प्रकाशमान सिंह दोहोरिने भएका छन् । २०६४ सालदेखि उनी लगातार सोही क्षेत्रबाट विजयी भएका थिए । काठमाडौं ३ मा सन्तोष चालिसेले टिकट पाएका छन् । यो क्षेत्रमा अम्बिका बस्नेतको पनि चर्चा थियो । अर्थशास्त्री स्वर्णिम वाग्लेको चर्चा रहेको काठमाडौं ५ मा प्रदीप पौडेलको इन्ट्री भएको स्रोतको दावी छ ।
काठमाडौं ६ मा भीमसेनदास प्रधान दोहोरिने भएका छन भने १० मा राजन केसीले टिकट पाएका छन् । दुवै नेताले २०७४ सालको प्रतिनिधि सभा चुनाव जितेका थिए । काठमाडौं २, ७ र ९ माओवादीको भागमा परेको छ भने काठमाडौं ८ नेकपा एसको भागमा परेको छ ।