काठमाडौँ । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुँदै छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।
देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।
उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा आफैँ उपस्थित हुन नसके प्रतिनिधि वा वारेस मार्फत पनि उम्मेदवारी दिन सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ।
त्यस्तै २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुनेछ ।
२६ असोजमा उम्मेदवारले नाम फिर्ताको समय पाउनेछन् । अन्तिम नामावली पनि त्यसै दिन प्रकाशन गरेर चुनाव चिह्न वितरण गरिने आयोगको कार्यतालिकामा उल्लेख छ ।निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ ।