काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यसअघिको आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४ छाड्ने भएका छन् । उनी आगामी मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधि सभातर्फ सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने स्रोतले जनाएको छ ।
गगन यसअघि काठमाडौं ४ बाट चुनाव लड्दै आएका थिए । गठबन्धनले गगनको निर्वाचन क्षेत्र काठमाडौं ४ नेपाली कांग्रेसकै भागमा पारेको थियो । तर, उनी आफ्नो पुरानो निर्वाचन क्षेत्र छाडेर सर्लाही ४ जाने पक्कापक्की भएको गगननिकट एक नेताले बताए । उक्त क्षेत्रबाट पनि गगनको नाम प्रतिनिधि सभातर्फ उम्मेदवारका रुपमा एकल सिफारिस भएर आएको थियो ।
गगननिकट ती नेताका अनुसार तराई मधेशमा गुमेको पार्टीको शाख फर्काउनका लागि गगनले उक्त निर्णय गरेका हुन् ।
गगनले छाडेको काठमाडौं ४ मा कांग्रेसबाट डा. स्वर्णीम वाग्लेले उम्मेदवार बन्ने चाहना राखेको पनि स्रोतको भनाइ छ । यद्यपि, अहिले बागमती प्रदेशको बारेमा छलफल नभएकाले यसबारे टुंगो नलागेको गगननिकट नेताले बताए ।