काठमाडौँ । नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेलको खाका शनिबार तय हुने भएको छ । शुक्रबार दुवै पार्टीका शीर्ष नेताबीच भएको छलफलमा तालमेललाई करिब करिब अन्तिम रुप दिइएको स्रोतले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा शुक्रबार करिब तीन घण्टा भएको छलफलमा दुवै पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तालमेलको खाका तयार पारेको हो ।
छलफलमा सहभागी राप्रपा नेता बुद्धिमान तामाङका अनुसार एमालेसँग तालमेलबारे ८० प्रतिशत सहमति भइसकेको छ। बाँकी २० प्रतिशतमा शनिबार सहमति जुट्ने भएको छ ।
एमाले स्रोतले पनि राप्रपासँग तालमेलबारे करिबकरिब सहमति भइसकेको जनाएको छ । राप्रपाले निश्चित निर्वाचन क्षेत्रमा मात्र एमालेसँग तालमेल गर्न लागेको हो । ती बाहेकका निर्वाचन क्षेत्रमा भने एमालेसँगै पनि मित्रवत प्रतिस्पर्धा हुने राप्रपा नेता तामाङले बताए ।