धनगढी । नेपाली कांग्रेसको कारबाहीमा परेका पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले उम्मेदवारी घोषणा गरेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि ओझाले कैलालीको क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति आए तपाईंको उम्मेदवारी रोकिन्छ ? भन्ने पत्रकारको जिज्ञासामा उनले आफू नेपाली जनताको आत्मसम्मानको लागि राजनीति गरेको बताउँदै कुनै पनि व्यक्ति आए पनि पछि नहट्ने बताएका छन् । कांग्रेसले पनि आफूलाई उम्मेदवार बनाउनेमा आफू विश्वस्त नभएको उनको भनाइ छ ।
शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म यहाँको मानिसहरूको आत्मसम्मानको लागि चुनाव लड्न गइरहेको छु । उपयुक्त फोरम चुनाव हो । म संगठित स्वतन्त्रको पक्षमा छैन । म सर्वदलीय उम्मेदवार बन्न चाहन्छु ।’
त्यस्तै उनले आफ्ना जित्ने आधारका आधारमा चुनाव जित्नेमा ढुक्क रहेको दाबी गरेका छन् । उनले भने, ‘यहाँ कांग्रेस पार्टी निर्माण गर्ने जीवित मान्छे मै मात्रै हुँ । त्यसैले कांग्रेसभित्र मलाई विश्वास गर्नुहुन्छ । कम्युनिस्ट पार्टीका व्यक्तिहरूसँग मेरो नियमित छलफल भएको छ । उहाँहरूले पनि मलाई सहयोग गर्ने वचन दिनुभएको छ । तपाईंहरु हेर्नुस् सब मलाई भोट दिन्छन् । म ढुक्क छु, यति ढुक्क कहिल्यै थिएन ।’
२०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट थिए । आरजु नेकपा एमालेका नारदमुनी रानासँग पराजीत भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले क्रियाशिल सदस्य समेत नरहनेगरी ओझालाई कारवाही गरेको थियो ।