धनगढी । पुष्करनाथ ओझाले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट अगामी मंसिर ४ मा हुने चुनावमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
निर्वाचन आयोगले पर्सी आइतबार उम्मेदवार मनोनयन दर्ताको समय तोकेकाले ओझाले उम्मेदवारी दिने विषयमा निकटस्थहरुसँग छलफल थालेका छन् । धनगढीस्थित रुवस होटलमा ओझा अहिले अगामी निर्वाचनमा उम्मेदवारी दिने भएकाले निकटस्थहरुसँग छलफलमा छन् ।
उनले कसरी अगाडी बढ्ने भन्ने विषयमा परामर्श गरिरहेको उनी निकट स्रोतले जानकारी दिएको छ । ओझा निटक एक नेताका अनुसार उनले स्वतन्त्र उमेदवारी दिने लगभग टुंगो लागिसकेको छ । ओझाले आज शुक्रबार दिउसो तीन बजे पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बताइएको छ ।
२०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट थिए । आरजु नेकपा एमालेका नारदमुनी रानासँग पराजीत भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले क्रियाशिल सदस्य समेत नरहनेगरी उनलाई कारवाही गरेको थियो ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कैलाली–५ बाट एकल सिफारिसमा परेकी आरजुले ओझाको साथ नपाउने देखेपछि समानुपातिक रोजेकी छन् । यो बीचमा ओझालाई फकाउने प्रयास समेत असफल भएका थिए । उनी समानुपातिक सूचीमा परेपछि कैलाली–५ मा नेपाली कांग्रेसले ओझामाथिको कारवाही फुकुवा गरेर टिकट दिने चर्चा चलेको थियो ।
तर बालुवाटारले भने पूर्व सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्तलाई प्रतिनिधिसभा सदस्यको चुनाव लड्न तयारी गर्न भनिसकेकाले त्यो सम्भावना नरहेको नेताहरु बताउँछन् । प्रदेशसभा ‘ख’ तर्फ भने आरजुले आफ्ना स्वकीय सचिव सचिव रहेका भतिजा प्रकाश देउवालाई लडाउने तयारी गरेकी छन् ।