काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाराको जितपुर सिमरा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।
आज बिहान भएको सडक दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो भने दुईदर्जन बढी घाइते भएका छन् । आज एक वक्तव्य जारि गर्दै प्रचण्डले चाडबाडको बेला भएको दुर्घटनाले आफू स्तब्ध भएको बताउँदै परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
अपील
बाराको जितपुरसिमरा सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा ठूलो संख्यामा धनजनको क्षति भएको घटनाले स्तब्ध बनेको छु । दुर्घटनाका मृतकहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।
यसका साथै बिभिन्न अस्पतालमा उपचाररत् घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक परिवार र घाइतेहरूलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न सम्बन्धित निकायसँग अनुरोध छ ।
चाडबाडको समयमा आइपरेको यो दुखमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको र केही दिन निरन्तर वर्षा हुने मौसम विभागले सतर्कता सूचना जारि गरेको स्मरण गराउँदै आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गर्दछु ।
सम्पूर्ण पार्टी पंक्तिलाई प्राकृतिक प्रकोपका घटनामा राहत, उद्धार तथा अन्य सबै किसिमको सहयोगका लागि तत्पर रहन समेत निर्देशन गर्दछु ।
प्रचण्ड
अध्यक्ष, नेकपा (माओवादी केन्द्र)