चितवन । चिकित्सकको लापरबाहीले उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन्।
भरतपुर महानगरपालिका वडा नम्बर १३ का रमेश कुवँरको मंगलबार मृत्यु भएको थियो। उनी सोमबार बिहान ग्याष्ट्रिक बढ्यो भन्दै उपचार गराउन मोटरसाइकलमा अस्पताल आएका कुँवरको चिकित्सककै लापरबाहीका कारण ज्यान गएको मृतकका भाइ रामबहादुर कुवँरले बताए।
मृतकका आफन्तले बिरामीको उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गरेका छन्।
अस्पतालले कुँवरको मृत्यु भएको घोषणा गरेपछि अस्पताल परिसरमा ठूलो संख्यामा मृतकका आफन्त जम्मा भएका थिए।
अस्पतालले आफ्नो लापबारही नरहेको भन्दै शव बुझ्न आग्रह गरेको थियो । तर, आफन्तले शव बुझेनन्। आक्रोशित आफन्तहरुको समूहले मंगलबार अस्पतालको सघन उपचार कक्ष (आइसीयू) कक्ष भित्रनै प्रवेश गरेर तोडफोड गरेका थिए।
तोडफोडबाट लाखौंको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ। तोडफोडबाट आइसीयू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ।