काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले मुलुकलाई राजनीतिक दुर्घटनामा पर्न नदिनका लागि राजनीतिक दलहरू सधैँ सचेत रहनुपर्ने बताएका छन् ।
नेता निधिले मुलुकमा दुर्घटना हुन्छ भन्ने आवाज पनि सुनिएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि राजनीतिक दलहरू सचेत रहनुपर्ने बताए ।
१५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली जनता परिवर्तनको पक्षमा उभिँदै त्यसलाई सदुपयोग गरेर मुलुकको विकास र समृद्धिका लागि काम गर्न सक्षम रहेको भन्दै त्यसको अगुवाइ राजनीतिक दलहरूले गर्नुपर्ने बताए ।
नेता निधिले नेपालको मात्रै नभई विश्वकै शान्ति, समृद्धि, विकास र मानव अधिकारको प्रवर्द्धनका लागि गान्धी विचारधारा सबैभन्दा उत्तम बाटो भएको तर्क समेत गरे । आलोचकहरु पनि आज विश्वभर गान्धी र गान्धी विचारबाट प्रभावित हुँदै गएको उनको भनाई थियो ।