काठमाडौँ । पाँच दलीय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी नेपाल सिट बाँडफाँटमा असन्तुष्ट बनेको छ । गठबन्धनमा केही क्षेत्रमा भएको सिट बाँडफाँटको समाचार बाहिर आएपछि जसपाका नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयंले बिहीबार धनुषामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘गठबन्धनमा मधेसी, आदिवासी जनजातिको सम्मानजनक सम्बोधन गरिएन भने जसपा एक्लै पनि चुनाव लड्न सक्षम छ ।’
चुनावमा कुनै पनि दलको वैशाखीको आवश्यकता जसपालाई नरहेको उनले बताएका थिए । उनले यसो भनेपछि जसपाका अन्य नेताहरुले पनि जसपा एक्लै चुनाव लड्न सक्षम रहेको अभिव्यक्ति दिन थालेका छन् । गठबन्धन निर्माणमै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जसपाले यसअघि पनि बारम्बार गठबन्धन छाड्ने चेतावनी दिएको थियो । अध्यक्ष यादवले केही अघि वीरगञ्ज पुगेर गठबन्धनबाट जसपाबाट बाहिर निस्कन सकिने धारणा राखेका थिए ।
गठबन्धनमा कुरा नमिलेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक कार्यक्रमबाटै आफ्नो असन्तुष्टि व्यक्त गर्दै आएका छन् । जसपाले मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ कम्तीमा १५ वटा सिटको माग गरेको छ जबकि गठबन्धनका अन्य दलहरुले १०–११ वटा सिट मात्र दिन चाहेका छन् । गठबन्धनले देशभरमा जसपालाई १५ सिट दिन चाहेको छ ।