काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजमा आमूल रुपान्तरण गर्नसक्ने पार्टी निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित नेता खनालद्वारा लिखित ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले २०६२/६३ मा पूँजीवादी जनवादी क्रान्ती सम्पन्न भएको र त्यसपछि समाजवादी निर्माणको दिशातर्फ अगाडि बढ्नुपर्ने धारणा पार्टीले राखेको बताए।
पुस्तकबारे उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, '२०६२/६३ मा भएको परिवर्तन के हो ? क्रान्ती हो भने कस्तो क्रान्ती हो ? केही प्रश्न अहिले पनि उठेका छन्। समाजवाद ल्याउन बाँकी छ तर आउन अनिवार्य छ। यस्तो पार्टी निर्माण गर्नुपर्छ जसले, समाजमा आमूल रुपान्तरण गर्न सकोस्। संकल्पबद्ध, आदर्शयुक्त पार्टी बनोस्। पद प्राप्तिको होड यस्तो छ, कल्पना पनि गर्न सकिँदैन। चुनाव आएको छ, मेरो टिकट पर्छ कि पर्दैन भनेर म भनेर हिडेको छ।'