काठमाडौं ।महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाडौं महानगरपालिका-३० मैतीदेवीस्थित कविकुञ्ज सङ्ग्रहालयमा परिणत भएको छ।
करिब एक रोपनी एक दाम जग्गासहितको चार तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई सङ्ग्रहालयका रूपमा स्थापित गरेको हो।
महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर सङ्ग्रहालय बनाइएको हो। निर्माण लागत सात करोड ११ लाख रुपैयाँ लागेको प्रतिष्ठानले जनाएको छ।
सङ्ग्रहालयमा महाकवि देवकोटाका पोशाक, पाण्डुलिपिसहित प्रकाशन भएका कृतिलगायत चिजबिज सङ्ग्रह गरिएको छ। महाकवि देवकोटाका चिजबिज हुनेलाई प्रतिष्ठानमा बुझाउन पनि आह्वान गरिएको छ। चिजबिज दिनेकै नाममा अभिलेख राखिने जनाइएको छ।
सङ्ग्रहालय उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले २०१६ सालमा हराएका महाकवि देवकोटालाई आज उनकै कविकुञ्जमा फेला पारिएको बताए।
साहित्यिक व्यक्तिका नाममा प्रतिष्ठानले बनाएको यो पहिलो सङ्ग्रहालय हो। विश्वमा प्रतिभाका निवासलाई तिनका स्मृतिमा सङ्ग्रहालय बनाउने गरिएको छ।
सङ्ग्रहालय व्यवस्थापनका लागि प्रतिष्ठानले पाँच जना कर्मचारी खटाएको जानकारी पनि कार्यक्रममा कुलपति उप्रेतीले दिए। सङ्ग्रहालय दसैँ बिदा सकिएपछि असोज २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने छ। एक वर्षसम्म सङ्ग्रहालय प्रवेश शुल्क नलिने नीति पनि प्रतिष्ठानले लिएको छ।