काठमाडौँ । कानूनले तोकेको भन्दा बाहिरको व्यक्तिले अल्ट्रासाउण्ड सेवा प्रवाह नगर्न नेपाल मेडिकल काउन्सिलले चेतावनी दिएको छ ।
विभिन्न स्वास्थ्य संस्थामा अनाधिकृत व्यक्तिहरूले अल्ट्रासाउण्ड सेवा प्रवाह भइरहेको व्यापक गुनासो आइरहेको भन्दै काउन्सिलले त्यस्तो नगर्न भनेको हो । कानूनले तोकेको बाहेकका व्यक्तिले अल्ट्रासाउण्ड प्रवाह गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने प्रष्ट पारेको छ ।
व्यापक रूपमा जनगुनासो आएपछि काउन्सिलले सरोकारवाला निकायहरूलाई बोलाएर छलफल गरेको थियो । उक्त छलफलपछि कानूनले तोकेको मापदण्डभन्दा बाहिरको व्यक्तिलाई अल्ट्रासाउण्ड सेवा प्रवाह गर्न नदिनेमा सरोकारवाला सहमत भएका थिए ।
कानुनअनुसार चिकित्साशास्त्रको कुनैपनि विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी काउन्सिलबाट प्रमाणपत्र लिएको चिकित्सकले मात्र अल्ट्रासाउण्ड सेवा दिन पाउने व्यवस्था छ ।
